देश

हरितालिका पर्वको अवसरमा नि:शुल्क स्वास्थ्य परीक्षण

काठमाडौं, भदौ १६-हरितालिका तीज २०७६ को अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा आएका भक्तजनहरुका लागि नेपाल प्रहरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोमबार नि:शुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराएको छ।

सो क्रममा नेपाल प्रहरी अस्पताल महाराजगंजबाट चिकित्सक समेतको स्वास्थ्य टोली खटि गई स्वास्थ्य अवस्थामा खरावी आएका १ सय ९७ जनालाई सामान्य स्वास्थ्य जाँच गरेको हो।

साथै सुरक्षा एवम् विविध मानवीय सेवा पुर्‍याउने उद्धेश्यले नेपाल प्रहरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी कमाण्ड पोष्ट तथा खोजखबर कक्ष संचालन गरी विविध सेवा पुर्‍याएको छ।

सो क्रममा दर्शनार्थीहरुको भीडमा हराएका ५ जना बालबालिकालाई प्रहरीले खोजी गरी सम्बन्धित अभिभावकको जिम्मा लगाएको छ भने आफन्तबाट छुटेका १ सय १९ जनालाई सम्पर्कमा ल्याएको छ।

साथै उक्त भीडमा हराएका पहेंलो औंठी २ थान र नगद सहितको पर्स १ थान प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाएको छ।