देश

देवीस्थानको भीम माविमा पुस्तकालय भवन निर्माण

म्याग्दी, भदौ १६–म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा रहेको भीम माविमा पुस्तकालय भवन निर्माण भएको छ । पहार ट्रस नेपालको अनुदान र समुदायको श्रमदान गरी कुल १९ लाख रूपैयाँको लागतमा एककोठे भवन निर्माण भएको हो ।

संस्थाले १६ लाख रूपैयाँ अनुदान उपलब्ध गराएको भवन निर्माणका लागि स्थानीयवासीबाट ३ लाख रूपैयाँ बराबरको श्रमदान भएको शिक्षक यामनाथ पौडेलले जानकारी दिए । संस्थाले एक हजार ४ सय थान विभिन्न विधाका पुस्तक पनि उपलब्ध गराएको छ । यसअघि पुस्तकालय स्थापना भए पनि भवन अभावमा व्यवस्थित हुन सकेको थिएन ।

कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा बालकक्षासहित २१५ विद्यार्थी छन् । बेलायती नागरिकहरुले स्थापना गरेको पहार ट्रसको सहयोगमा यसअघि अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविमा आठकोठे भवन निर्माण भएको थियो । भवनको १२ औँ पुस्तकालय दिवसको अवसर पारेर आइतबार वडाध्यक्ष पिपला बुढाले भवनको उद्घाटन गरिन् । अध्यक्ष बुढाले पुस्तकालयलाई प्रभावकारी र व्यवस्थित गर्न कोषको आवश्यकता औँल्याउँदै त्यसका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

विद्यालयलाई २ लाख ६० हजार रूपैयाँ सहयोग
यसैगरी म्याग्दीको मंगला गाउँपालिका–५ किमचौरमा रहेको विष्णु राष्ट्रिय आधारभूत विद्यालयलाई २ लाख ६० हजार रूपैयाँ सहयोग प्राप्त भएको छ ।

मंगला–५ पिपलबोटका वीरेन्द्र बुढाथोकीले २ लाख रूपैयाँ, मंगला–३ पखेर घर भई हाल बेलायत बस्ने हर्कराज रोकाले ५० हजार ५५ रूपैयाँ र मंगला–४ थर्पु घर भई हाल बेलायत बस्ने धनकुमारी छन्त्याल रोकाले १० हजार रूपैयाँ सहयोग गरेका हुन् । विसं २०१७ मा भूपूजिल्ला सभापति रामबहादुर बुढाथोकीको पहलमा स्थापना भएको यो विद्यालयमा कक्षा ८ सम्मको पठनपाठन सञ्चालन गरिएको प्रअ गुप्तबहादुर रोकाले बताए । सहयोगदाता वीरेन्द्र रामबहादुरका छोरा हुन् ।

९० विद्यार्थी रहेको यो विद्यालयमा १–५ तहको मात्र दरबन्दी छ । ६ देखि ८ सम्मको कक्षा सञ्चालनका लागि तीन निजी स्रोतका शिक्षक राखिएको छ । निमाविमा एक राहत, प्रावि स्थायी एक, प्रावि राहत दुई र एक करार शिक्षक छन् । तीन शिक्षकको तलबभत्ता चन्दा, देउसीभैलो खेलेर जुटाउने गरिएको व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र फगामीले बताए । प्राप्त सहयोग रकम निजी स्रोतका शिक्षकको तलबभत्तामा परिचालन गरिने विद्यालयले जनाएको छ ।

विसं २०७५ को गाउँपालिकास्तरीय परीक्षामा उत्कृष्ट नतिजा ल्याएको विद्यालयका शिक्षक डिबी घर्तीले बताए । दरबन्दीअनुसार शिक्षकको व्यवस्था भएमा सिकाइ उपलब्धि र गुणस्तर सुधार गर्न सहयोग पुग्ने उनले बताए । (रासस)

Featured