देश

मिथिला क्षेत्रमा चौठी चान पर्वको रौनक

जनकपुर, भदौ १६–चौरचन (चौठी चान) पर्वका कारण जनकपुरधाम क्षेत्रमा विहानैदेखि चहलपहल बढेको छ । आज साँझ घर घरमा चौरचन पर्व हुनेछ । भदौ शुक्ल चौथीका दिन मनाइने चौरचन पर्व मिथिला क्षेत्रका प्रमुख पर्व मध्येका एक रहेको छ । तिथिको समयमा हेरफेर भएपछि हरितालिका तीज र चौंठचन आज एकैदिन परेको हो ।

चौरचनको महत्व बुझेर जनकपुरधाम उपमहानगरपालिकाले आज एकदिनको नगरमा विदा दिएको छ । चौठचन पर्वको पूजामा सहभागी परिवारका एक सदस्य खासगरी महिला दिनभर उपवासमा बसेर साँझपख गणेश र चन्द्रमालाई पूजा गरेर विधिवत् रूपमा पर्व सम्पन्न गर्छन् । अहिले चौरचनका लागि प्रसादी बनाउने कार्य भइरहेको जनकपुरधाम ४ का जयमंगला देवी झाले बताइन । घर घरमा पुरिुकिया, खजुरीया, खाजा, खिर, पुरी लगायतका परिकारहरु वनाउने गरिन्छ ।

चन्द्रमालाई दही, मिठाइ, नरिवल, केरा, नेवो लगायतका सामाग्रीहरुपनि चढाउने गरेको परम्परा रहेको छ । गाईको गोबरले लिपेर बनाइएको आँगनमा अरिपन बनाएर त्यहाँ प्रसादी राखी चन्द्रमा र गणेशको पूरा गर्ने गरिएको साँस्कृतिविद् चन्द्रमोहन झा पडवाले बताए । यस पर्वको माध्यमबाट मैथिल कला संस्कृतिको समेत उजागर हुन्छ । खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाइ, त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ ।

अन्तुष्ट मन र अतृप्त इच्छाले मानिसको मनमा अनेकौ दुःख उत्पन्न हुनुका साथै भ्रष्ट र अनैतिक बनाइदिने हुनाले, चन्द्रमा देवतालाई नै मनःशान्ति र अभिष्ट पूर्ति गरि जीवनसुख आनन्दले पारिवारिक सुख–समृद्धि प्रदान गरोस भन्ने हेतुले यो तप–व्रत प्रत्येक वर्ष गरिने गरिएको त्रिभुवन विश्वविद्यालय अन्तर्गत मैथिली विभागका पूर्व प्रमुख परमेश्वर कापडीले बताए ।

स्कन्दपुराणअनुसार भगवान् कृष्णमाथि लोभ वंश मित्रको हत्या गरेको आरोप लागेपछि नारदको प्रेरणाबाट चन्द्रमाको पूजा गरेर आफूमाथिको कलंकबाट मुक्त भएका थिए । यो व्रत बस्दा अनाहक दोषबाट बचिने जनविश्वास छ । मिथिलामा प्रचलित कथा अनुसार चन्द्रमा पनि आजकै दिन दोषमुक्त भएका थिए । चन्द्रमालाई भगवान गणेशले श्रापदिएका थिए ।

कथा अनुसार एकपटक भगवान गणेश आकाशमार्गवाट कतै गइरहेको वेला उनको रुप देखेर चन्द्रमा हाँसेकी थिइन । त्यसपछि भगवान गणेशले श्रापदिएका थिए पछि चन्द्रमाले गणेशलाई भदौ शुक्ल चौथीका दिन पूजा गरेपछि श्रापवाट मुक्त भएकी थिइन । चन्द्रमालाई कुनै फल लिएर मन्त्रसहित मात्रै दर्शन गर्नुपर्ने परमपरा रहेको छ । मिथिलामा यो पर्वको प्रारम्भ तत्कालिन राजा हेमांगद ठाकुरले प्रारम्भ गरेका थिए । उनी ज्योतिषपनि भएकाले यो पर्वको फल बुझेर प्रारम्भ गरेको स्थानीयवासीहरु बताउँछन् । मिथिलाको लोकपर्व चौठचन्द्रको बेला गणेश र चन्द्रमाको कथा सुन्नेसमेत परम्परा रहिआएको छ ।

Featured