विदेश

२ सय रुपैयाँको चिठ्ठाले करोडपति, हरेक महिना साढे १४ लाख पाउने

एजेन्सी, भदौ १६-बेलायतकी एक महिलाको जीवनमा भाग्य चम्किएको छ। ४२ वर्षकी ती महिलाले झण्डै २ सय रुपैयाँ बराबरको रकममा किनेको एउटा लट्रीले उनलाई करोडपति बनाएको छ । उनले झण्डै ५० करोड रुपैयाँ बराबरको पुरस्कार जितेकी छिन्।

अब उनले जितेको उक्त रकम महिनावारी रुपमा प्राप्त गर्नेछिन्। अर्थात् आगामी ३० वर्षसम्म उनले हरेक महिना झण्डै साढे १४ लाख रुपैयाँ पाउनेछिन्। बेलायतको हालिफ्याक्समा बस्ने ४२ वर्षकी मिसेल नामकी ती महिला पेशाले एउटा कम्पनीमा सहायक दर्जामा छिन्। उनको अनलाइन अकाउन्टमा जम्मा बँचेको डेढ पाउण्ड रकमले उनले लट्री खरीद गरिन्, जसले उनको भाग्यको ताला खोलिदियो।

ती महिलामा वास्तवमा यसरी चिट्ठा किन्ने लत नै रहेछ। उनले यसअघि लटरीमै १० पाउण्ड रकम जितिसकेकी रहेछिन्। सो रकमले पुनः लट्री खरिद गर्दा झण्डै पाँच पाउण्ड रकम जितिन्। त्यसपछि उनले सो रकमले पनि अरु लट्री किनिन्।

गत १९ अगष्टका दिन उनको बैंक अकाउण्टमा जम्मा डेढ पाउण्ड बराबरको रकम मात्र बँचेको रहेछ। त्यो रकमको पनि सदुपयोग गर्दै उनले लट्री खरिद गरिन्। यसपटक उनलाई भाग्यले साथ दियो। उनले ३६ लाख पाउण्ड अर्थात् झण्डै ५० करोड रुपैयाँ बराबरको पुरस्कार जितिन्। अब उनले उक्त पुरस्कार रकम हरेक महिना झण्डै साडे १४ लाखको दरले ३० वर्षसम्म पाउनेछिन्।

उनको इमेलमा जब लट्री जितेको सूचनासहितको इमेल आयो, तब उनले खासै मतलब गरिनन् र सानेा रकम त परेको होला नि भन्ने सोँचिन्। तर जब उनले आफ्नो अनलाइन अकाउण्ट खोलिन् तब उनी झण्डै भुइँमा ढलिन्। उनलाई विश्वासै लागेन। किनकी उनले करोडौँको लट्री प्राप्त गरेकी थिइन्। उनले नेसनल लट्रीमा फोन गरेर यसको पुष्टि गरेपछि मात्र ढुक्क भइन्। अब लट्रीमा जितेका पैसाबाट भव्य घर किनेर बसाइँ सर्ने र आरामदायी जिवनयापन गर्ने उनको योजना छ।

Featured