देश

विद्यार्थीहरुको दृष्टीदोष हटाउन ‘भिजन भ्यान’ संचालनमा

विराटनगर, भदौ १६–विराटनगर आँखा अस्पतालले नगरका सामूदायिक विद्यालयका विद्यार्थीहरुको दृष्टीदोष हटाउन सम्पूर्ण सुविधायुक्त ‘ भिजन भ्यान ’ बस संचालनमा ल्याएको छ । आँखाको उपचारका लागि चाहिने सम्पूर्ण सुविधायुक्त भिजन बस संचालनमा ल्याएको हो ।

अरविश इन्टरनेशनलको ३२ लाख ७२ हजार र नेपाल नेत्र ज्योति संघ मोरङको १० लाख रुपैयाँको लागतमा खरिद गरिएको उक्त भ्यानमा आँखाको सम्पूर्ण परीक्षण गर्नुका साथै चश्मा समेत निःशुल्क उपलव्ध गराउने व्यवस्था गरिएको छ । सो बसमा दृष्टि परीक्षण उपकरण, स्लीट लेम्प, टोनोमिटर, फनडस जाँच तथा तुरुन्च चश्मा तयार गर्ने व्यवस्था गरिएको छ । बातानुकुलित भ्यानको अगाडि टेलिभिजन राखी विभिन्न जनचेतनामुलक सामाग्री समेत प्रर्दशन गरिने छ ।

विद्यार्थीहरुको परीक्षण पश्चात शल्य चिकित्सा गर्नु पर्ने भएमा विराटनगर आँखा अस्पतालमा निःशुल्क उपचार गराउने व्यवस्था गरिएको छ । भ्यान सञ्चालनले आगामी तीन वर्षभित्र तीन लाख विद्यालयका बालवालिकाहरुको आँखा परीक्षण गर्नुका साथै चश्मा वितरण गरिने लक्ष्य लिएको छ ।

विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले गायत्री संस्कृत माविमा भ्यानको उद्घाटन गर्दै आर्थिक रुपमा कमजोर रहेका सामूदायिक विद्यालयका विद्यार्थीलाईको आँखा उपचारमा सहज हुने बताए ।

उनले महानगरपालिकाले गत वर्षदेखि नगरमा रहेका आँखा अस्पतालसंग समन्वय गरी मोतियाविन्दु रहित अभियान संचालन गरी निशुल्क रुपमा नगरवासीहरुलाई शल्यक्रिया सेवा उपलव्ध गराएको जानकारी दिए । विद्यार्थीहरुमा हुने दृष्टिदोषमा सामूदायिक विद्यालयमा ३ प्रतिशत रहेको छ भने संस्थागततर्फ ९ प्रतिशत रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।